नेपालको मध्यमाञ्चल विकास क्षेत्र वागमती अञ्चल काभ्रेपलाञ्चोक जिल्ला ३ नं. प्रदेश अन्तर्गत चौंरीदेउराली गाउँपालिका स्थित यस जागृति माध्यमिक विद्यालय धुलिखेल सदरमुकामबाट कोशीपारी भेग स्थलमार्गद्धारा करीव ७० कि.मि. दूरीमा अवस्थित छ ।
शिक्षाप्रेमी संस्थापक स्व. बालकृष्ण गौतमको सक्रियतामा सदस्यहरु स्व. कणर्खर गौतम, स्व. छविलाल चौलागाईं, स्व. नन्दलाल गौतम, स्व. हिरालाल गौतम, स्व. भवनाथ गौतम, स्व. गौरीशंकर गौतम, श्री तेजबहादुर चौलागाईं, स्व. श्रीकृष्ण गौतम लगायतका अग्रज समाजसेवीहरुको नेतृत्वमा यस भेगका जनताहरुको जागरुकता र सक्रियतामा वि.सं. २०१७ मा यस विद्यालयको स्थापना भएको हो ।
वि.सं. २०१८ मा जागृति प्राइमरी पाठशालाको नामबाट सरकारी स्वीकृति प्राप्त गरी यस विद्यालय वि.सं. २०२८ बाट सरकारी अनुदानको प्रा.वि., वि.सं. २०३५ सालमा नि.मा.वि., वि.सं. २०५२ सालमा मा.वि., वि.सं. २०६७ सालमा शिक्षा र व्यवस्थापन समूह सम्बन्धन प्राप्त गरी मा.वि. (साविक उच्च मा.वि.) तह कक्षा ११ र १२ हालसम्म अनवरत रुपमा सञ्चालनरत छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट २०६९ सालमा प्रिडिप्लोमा तह र शै.स. २०७६ देखि डिप्लोमा तह ३ वर्षे कृषि बाली विज्ञान विषयको सम्बन्धन लिई हालसम्म कक्षा सञ्चालन भइरहेको छ ।